कविता – एउटा सपना

म देख्दछु कि मान्छेहरू होचिइरहेका
दिनदिनै, छिनछिनै खिइरहेका
के भइरहेछ दुनियाँमा ?
के खाइरहेछन् मान्छेहरू यसरी ?
बिनाकारण होचिनु त नपर्ने हो
बिनाकारण खिइनु त नपर्ने हो

होचिएर सकिनुको महामारी चल्नेछ एकदिन
खिइएर धुलो पनि नरहनुको महामारी चल्नेछ एकदिन
यसरी नै हो भने त म पनि नासिन्छु होला
मेरो अस्तित्व पनि माटोमा मिल्छ होला

किन मसँग मिल्न नसकेका यी मान्छेहरू ?
कसले जन्म दियो यस्ता मान्छेहरूलाई ?
बुद्धिको बिर्को खोल्न भुलेर गुम्सिएका सायद
दिनदिनै, छिनछिनै कुरुप देख्दछु
जति सद्दे बन्न खोज्छन् उति ‘अर्ध’ पाउँदछु

यो आँखा उस्तो हो कि मान्छेहरु बेइमान
भ्रम होइन रहेछ भने बेइमानीको पहाड बन्दै छ
बेइमानीको पहाडबाट इमानको चोमोलुङमा तल कतै देखिएला
यस्तै हो भने नदेखिएला पनि भन्छु म त

यी सब भ्रान्ति बनून्
एउटा नराम्रो सपना