केहि यक्ष प्रश्नहरु

तिलक तिवारी

यिनले फेरी क्रन्तिको कुरा गर्नेछन । फेरी शान्तिको कुरा गर्नेछन । गर्नेछन फेरी अधिकारका कुरा, समानताका कुरा अनि नेपाललाई केहि वर्षभित्रै स्वीजरल्याण्ड बनाउने कुरा । एमाओवादीले भन्नेछ हामीले त देशको कायापलट गर्न खोजेकै हो तर कांग्रेस एमालेले नदिएर पो । एमालेले भन्नेछ देख्नुभो त हामीले नौ महिने सरकार चलाउदा कस्तो करिष्मा गरेका थियौ । अव पनि हामीलाई मजवुत स्थान दिलाईदिनुस त हामी फेरी चमत्कार गरेर देखाउछौ । कांग्रेसले भन्नेछ यी वामपन्थीका कारण मुलुकमा संविधान बनेन र अव पनि यिनलाई भोट दिनुभो भने संविधान बन्दैन बनेपनि लोकतान्त्रिक संविधान बन्ने छैन । त्यसैले आदरणीय जनसमुदाय यो पाला हामीलाई । सवैले एकअर्कालाई होच्याउनेछन अनि आफ्ना पक्षमा मतदानका लागि अपिल गर्नेछन । संविधान कसका कारण बनेन यसको उचित जवाफ कुनैले पनि दिन सक्नेछैनन । किन पनि भने संविधान नबन्नुमा यीनिहरुको सवैको समान भूमिका अनि जिम्मेवारी छ । त्यसैले पनि उनीहरुको नैतिक धरातल कमजोर छ ।
चुनाव आउनपर्छ बल्ल सम्झछन यीनले हिजो ढाल बनेर जोगाएका अनि नेता बनाइदिएका कार्यकर्तालाई । मलाई टिकट पाउने अनि जित्ने मौका मात्र दिनुस न म तपाईहरुलाई के के पो गरिदिन्छु भन्छन । टिकट पाउछन,जित्छन अनि शुरु हुन्छ यीनको सक्कली पारा । जित्नेले जनताका विचमा गएर धन्यवाद एवं आभारी प्रकट गर्न सक्दैन, हार्नेले पनि धन्यावाद अनि आभार प्रकट गर्ने संस्कार प्रदर्शन गर्न सक्दैन । जित्नेले ठान्छ जितिहालियो अनि हार्नेले ठान्छ हारियो अव किन जान पर्यो ।
नेपाली राजनीतिमा यतिवेला पहिलो बनिने प्रचारवाची निकै भइराखेको छ । एकदिनमा विहान एउटाको, दिउंसो अर्काका,े अनि सांझ अर्कोको पहिलो बन्ने दावीले नेपाली जनताको कान पाकिसक्यो । पहिलो बन्नलाई खास योग्यता खास विशेषता चाहिन्छ या चाहिदैन त्यतातर्फ चाहि यिनीहरुको ध्यान गएको छैन । पैसा छ,पैसा भएपछि जावो केटा अनि नेपाली जनता त किनिहालिन्छ नि को भावमा यिनीहरु छन । ठोक्नी रणनीतिमा छन सवै । मुद्वा वाकी नरहेपछि वलको प्रयोगको रणनीतिमा छन । जसले हान्यो,ठोक्यो उसले जान्यो उनीहरुले बुझेको यही हो  । केन्द्र भन्छ जुनसुकै हालतमा चुनाव जितेर आउ , त्यसका लागि जे पर्छ गर,अर्थात दम भए ठोक । यसले चुनावको निष्पक्षता एवं वैधानिकतामा प्रश्न चिन्ह लगाउनेछ । मष्तिस्कले काम गर्न छाडेपछि मान्छे पनि बल को प्रयोगमा लाग्छ त्यसतै दल पनि विचारले नसकेपछि बलतिर लाग्छन । मुद्वा जेजति छन ती सिद्विए । अव मुद्वा खोज्ने हो भने फेरी पुराना कुरा उल्टायउनुपर्ने पो देखिन्छ ।  ती पनि घरेलु थिएनन । घरेलु मुद्वा उठाउन मालिकहरुले दिदैनन । मालिकहरुले दिएका मुद्वा गणतन्त्र छ तर त्यो पनि धरापमा पर्लाकी भन्ने डर, संघीयता उठाउं उत्तरले थर्काउला भन्ने डर, नउठाउं यूरोपियनले दिने गरेको खाइपाई बन्द होला भन्ने डर । धर्म निरपेक्षताको कुरा जनताविचवाट अनुमोदन गर्दा फेल खाला भन्ने डर । तर पनि पहिलो बनिन्छ को दावी चाहि छोडको छैनन यीनिहरु । तर कसरी बन्छौ ,हामीलाई जनताले किन पहिलो बनाउछन,हाम्रा पहिलो बन्ने मुद्वाहरु के के छन आदि इत्यादीका विषयमा काफी भ्रमहरु दलहरुविचमा देखिन्छन । पहिलो बन्नलाई इतिहासमा हामीले नेपाली समाजलाई के के दियौ भन्ने आत्मसमीक्षा नगरि पहिलो बन्छौ को गफ केवल गजडिया गफ सिवाय केहि पनि हुन सक्दैन भन्ने सत्यतिर नेतृत्वको ध्यान पुगको छैन । पहिलो संख्याले हैन सारले बन्दा जाति हुन्थ्यो । नेपाली कांग्रेसलाई पहिलो बन्न केवल आफ्नो लोकतान्त्रिक छवि,अनि विपी भजाए पुग्ने भ्रम छ भने एमालेलाई नौ महिने सरकार सञ्चालनको व्याज,युथफोर्स र मदन भण्डारीको जवज को कीर्तन,दक्षिणपन्थी यथास्थितिवाद,उग्रवामपन्थीको पाडे गाली  गाए पुग्छ भन्ने लागेको छ भने एमाओवादीलाई दश वर्षे युद्वले सामाजिक रुपान्तरणमा दिएको धक्का,वाइसियल,अवकास प्राप्त लडाकुहरु अनि कांग्रेस एमालेलाई संशोधनवादी, अनि संघियता र गणतन्त्र विरोधीको संज्ञा,संघीयता र गणतनत्र हाम्रो खास नारा अनि हाम्रा कारणले यी चीज नेपालमा आएका हुन र आउनेवाला छन भन्ने कुरा फलाकेमा कसो पहिलो नबनिएलाको भ्रंममा एमाओवादी छ ।
  नेपाली समाजमा भित्र भित्रै पाकेको नयां समीकरण ,नयां चेतनाको विषयमा उनीहरुलाई प्रशस्त अनभिज्ञता रहेको  देखिन्छ । आज जनता फेरी सय राजा भन्दा एकै राजा वेशको मानसिकतामा पुग्ने खतराप्रति सचेत छैनन यीनिहरु । जनताको नजरमा हामी कति गिरेका छौ भन्ने आकलन तर्फ उनीहरु लागेका छैनन । लाग्छ लुतो कन्याउनेलाई लुतो कन्याउनमा मजा आएजस्तै दलहरु पनि लुतो कन्याइरहेका छन र यसमै छ मजा उनीहरुलाई । आज पनि नेपाली जनताको आथिर्क स्तर जहांको त्यही छ,आज पनि गाउंका अधिकाशं युवाहरु रोजगारीको अभावमा विदेश धाइरहेका छन,कुनै नेपालीको आथिर्क स्तर उकासिएको भए त्यो नेपालको राज्यसत्ताका नीतिका कारण होइन कि विदेशमा गएर पसिना चुहाएका कारण हो । परिवार छोडेर विदेशीएको छ, पल पल नेपालका नेताहरुलाई धिक्कार गरिरहेको छ । बुढा बाउआमा पाल्नुपर्ने,छोराछोरी पढाउनुपर्ने कारण पनि उ आफ्नै परिवारसंग बस्न पाएको छैन । सुखदुख ,हांसो आशुं बाडेर सगंै जीवन ज्यूने सपना संगालेर विवाह बन्धनमा बाधिएको हप्ता दिनमा भिषा झर्छ अनि युवा लाग्छ विदेशतिर । यो भन्दा पिडादायक अवस्था अरु के हुन सक्छ नेपाली युवाका लागि । के नेपाली राज्यसत्ता अनि ठेकेदारहरु नेपाली संवेदनाका हत्यारा होइनन ? त्यो परदेशिएको युवा अनि घरमा टोलाएर वसेकी त्यो निर्दोष श्रीमतीको मनोविज्ञान  कस्तो होला ? कल्पना सम्म गरेका छैनन  यीनीहरुले । त्यसले नेपाली समाजलाई कहां पुर्याउला ? नेपाली नागरिक माथिको भयानक अपराध हो की होइन यो ? के नेपाली नेतृत्वले यस्ता अनेक विषयहरुमा ध्यान पुर्याएका छन त ? आजका यक्ष प्रश्नहरु हुन यी नेपाली समाजकातर्फवाट दल र तिनका नेतालाई ।
   अव  प्रत्येक युवाहरु अनि युवतीहरुले सोध्नुपर्ने भएको छ  हामी जीवनभर संगै सुख दुख बाडेर  वस्न पाउने त्यो अवसरको सिर्जना गर्ने कार्ययोजना के छ तिमीहरुसंग ? वृद्व वृद्वाले सोध्नुपर्ने भएको छ हामीलाई त्यही एमाले सरकारका पालामा दिने गरेको वृद्व भत्तामा दुई चार सय थप्नुमानै हामीप्रतिको राज्यको दायित्व पुरा भएको हो ? अनि विद्यार्थीले भन्नुपर्ने भएको छ ,हामीलाई किताव मात्र घोकाउने कि केहि आत्मनिर्भर शिक्षा प्रदानको अवसर पनि प्रदान गर्ने ? सीमा पारि २ लाख पर्ने मोटरलाई १० पाइला यता १२ लाख किन पर्छ ? सर्वोच्चले जन्मकैदको फैसला सुनाएकहरु खुलमखुला नेता बनेर हिडिरहेका छन तिनीहरुलाई कनुनी कठघरामा उभयाउने न्यायलसम्बन्धी के कार्ययोजना छ तिमीहरुसंग ?  प्रत्येक क्षत्रले ,प्रत्येक नागरिकले प्रश्नहरु राख्न सक्नपर्छ अव । धरै चर्का गफ नगर नेताहरु हो भन्दै भन्न पर्ने भएको छ जनता अझै पनि आफ्नै आगनमा काकाकुल बनिरहेको छ,भेटदाको लयालु बोलीले जनताको पेट भरिएको छैन ,तपाई साझ व्यञ्जन खाइरहदा जनता बेलुका के खाउंमा तडपिरहेको छ ,जनताका कामवाट कसरी फुत्कने भन्ने दाउंवाहेक के छ तपाइहरुसंग ? तपाइलाई अझै पनि लागिरहेकै छ कार्यकर्ताले भोकै सलाम ठोकिरहोस, हनुमान बनिरहोस,तलुवा चाटिरहोस,हवस हजुर भनिरहोस । अहिलेको पुस्ता वेरोजगार होला तर त्यहांसम्म अचेतन छैनकि तपाईलाई मुल्याङकन नै गर्न नसक्ने गरि । त्यसकारण नेता महोदय बनाउनुस पुल,खन्नुस वाटो,लगाउनुस जागिर योग्यता पुगेकालाई,जुटाईदिनुस स्रोत उद्यम गर्न खोजेकालाई,भेटिदिनुस विरामी,सक्नुहुन्छ किनिदिनुस ओखती,बोलिदिनुस मिठो,सोधीदिनुस खानुभाछ छैन अनि बनिन्छ नेता अनि पहिलो दल  । रित्तो टोपी अनि दाह्री पालेर नेता हुने भए सवै हुन्थे नेता अनि पहिलो दल । आज पनि नेपाली जनता गाउंघरमा अझै पनि पानीका लाग डोको बोकेर घण्टा धाउदैछ,हिजो युद्वमा प्रतिपक्षीसंग भिडदा टाउंको फोरेको युवा पट्टी बाधेर परदेशियो,फरक आस्था राखकै कारण मारिएको परिवारको विचल्ली भयो,न तिनको आवाज वल्खुले सुन्यो,न सानेपाले न पेरिसडाडाले । अनि कुन नैतिकताले तपाई पहिलो बन्ने दावी गर्दे हिडनुभएको छ महोदय । पार्टीभित्रको गुट राम्ररी चलाउन नसक्नुभएका तपाई अनि तपाईको दलवाट नेपाली जनताले कति नै आशा गर्न सक्छन ? दलभित्रैको फरकमतलाई सम्मान गर्न नसक्ने तपाइवाट देशका नागरिकले के सम्मान पाउने अपेक्षा गर्ने ? त्यसकारण एकचोटि शिरदेखि पाउसम्म तपाई अनि तपाईको दललाई हेर्नुस त कतै तपाई अनि तपाई को दल कुरुप अनि वामपुड्के त देखिएको छैन ?