‘म जँड्याहा होइन’–खगेन्द्र संगौला

पहिले दिनमा पच्चीस–छब्बीस खिलीसम्म चुरोट खाएँ, अहिले छोडें । चिया धेरै खान्थेँ, कम गर्दै छु । अहिले मदिरापान गर्छु, त्यो पनि कुलत हो ।

सँगै बसेर मदिरा पिउने मेरा केही मित्र मात्र छन् । मेरो उपस्थितिले उनीहरूलाई अभिभावकत्व महसुस गराउँछ रे । यो बूढो आफू पनि गति छाड्दैन, हामीलाई पनि नियन्त्रण गर्छ भन्छन् । म आफूचाहिँ झगडा गर्दिनँ । बरु अरूको झगडा हेरेको छु । कतिपय बेला झगडा मिलाउन सफल भएको छु, कहिले असफल पनि ।

खगेन्द्र संग्रौला, साहित्यकार

 –    मेरो लागि प्रशंसकभन्दा आलोचक ठूलो शक्ति हो ।
–    अरूसँग नभएको विशिष्ट कुरा मसँग छैन ।
–    लेख्नुबाहेक अरू कुनै काम जान्दिनँ ।
–    मैले चुरोट छोडेको यो चौथो पटक हो ।
–    लत र सिर्जनाको सम्बन्ध हुँदैन ।
–    एक सर्को तानेपछि कसैलाई फुरेजस्तो चाहिँ हुन सक्छ ।
–    मलाई पनि बालेजस्तै तमाखु खाने र ठुलो हुने भूत चढ्यो ।
–    अहिले हप्तामा दुई–तीन पटक पिउँछु ।
–    साँझपछि एकान्तमा पिउन मन लाग्छ ।
–    एक बसाइमा तीन पेगसम्म खान्छु ।
–    रक्सीले जिब्रो मात्र भिजाउँदा आनन्द लाग्छ ।
–    रक्सी छोड्ने संकल्पै गर्दिनँ ।

खगेन्द्र संग्रौला के हो ?
– एउटा सामान्य नागरिक, सामान्य मान्छेभन्दा बढी नामअगाडि लेखक जोडिएको छ, त्यति मात्र हुँ ।
साहित्य तपाईंको पेसा कि आत्मसन्तुष्टिको माध्यम ?
–साहित्य मेरो निष्ठा हो । जिवन र जगत्सँग मेरो सम्पर्क जोड्ने सूत्र हो । अहिले साहित्य मेरो नसा र अभिन्न अंग भएको छ ।
तपाईंलाई कलम र कम्प्युटरबाट अलग गरिदिए जीवन कस्तो होला ?
–कलम र कम्प्युटरबिनाको मेरो जीवन मरेतुल्य हुन्छ ।
आफूसँगको बहुमूल्य चिज के हो जस्तो लाग्छ ?
–किताब हुन् । मेरा निम्ति किताब प्रेरणा र जीवनको स्रोत हो, साथी हो, सबै कुरा हो । 
तपार्इंका लेख पढेर मान्छेले गाली गर्दा कस्तो लाग्छ ?
–सुरुसुरुमा पाठकहरुको गाली सुन्दा असजिलो लाग्थ्यो । अब बानी परिसक्यो । मलाई कसैको आलोचना गरेर लेख्ने अधिकार छ भने पाठकलाई मेरो लेख मन नपरेर आलोचना गर्ने अधिकार पनि छ । त्यसैले सामान्य लाग्छ । नेपाली समाज विभाजित छ । कसैले कसैका बारेका लेख्यो वा बोल्यो कि पोल्यो हुन्छ । मेरो लेख कसैको घाउमा मलम लगाएजस्तो हुन्छ त कसैमाथि आक्रमण गरेजस्तो पनि हुन सक्छ । मेरो लागि प्रशंसकभन्दा आलोचक ठूलो शक्ति हो ।

सिर्जना गर्न तपार्इंलाई केले घचघच्याउँछ ?
–सिर्जना भनेको लेख्ने अभ्याससँगै निष्ठा, लत र आर्जनको स्रोत पनि हो । लेख्नुबाहेक म सँग अरू केही काम छैन । अरू जान्दिनँ पनि । 
कस्तो वातावरणमा सिर्जना गर्न मन पर्छ, घरभित्र वा बाहिर ?
मेरो आफ्नो कोठा, कम्प्युटर र एकान्त । यी तिन कुरा नभए लेख्नै सक्दिनँ । मेरो घरको वातावरण पनि त्यस्तै छ । लेख्नकै लागि भनेर घर छोड्दिनँ । मान्छेसँगको भेटघाट वा फोन आएकै कारणलाई अवरोध मान्दिनँ । संकटकालमा एक महिना धुलीखेलको होटलमा बसेर ‘आमा र यमदूत’ लेखेँ । अरू सबै घरमै लेखेको हुँ ।
तपाईंसँग सिर्जनाको विशेष पक्ष के छ, जो अरूसँग छैन ?
त्यस्तो होइन । हरेक जिउँदो मान्छे संघर्षमा हुन्छ । अनुभव र अनुभूति सबैसँग हुन्छ । अभिव्यक्त गर्ने भाषा र शैली कहाँ कसरी फरक हुने भन्ने मात्र हो । अरूसँग नभएको विशिष्ट कुरा मसँग छैन । लामो समयको अभ्यास र साधनाले आफ्नो कुरा म राम्ररी अभिव्यक्त गर्छु होला, त्यति मात्र हो ।

साहित्य सिर्जनाका क्रममा चुरोट आवश्यक पर्छ भन्छन्, तपाईंको हकमा पनि यो लागू हुन्छ ?
–देवकोटा चुरोट खान्थे तर सम र लेखनाथ खाँदैनथे । सिर्जनालाई लतसँग जोडिन्छ, लेखक चुरोट खान्छ, कविले जाँड खान्छ, अरू कसैले गाँजा खान्छ भनेर । सबैलाई सामान्यीकरण गरेर एउटै डालोमा राख्न मिल्दैन । कसैको लत हुन्छ कसैको हुँदैन । लामो समयदेखि चुरोट खाँदै आएकाहरुलाई त्यो लेखनको अंगजस्तो लाग्छ । अहिले मैले चुरोट खान छोडेको छु, चुरोट छोडेको यो चौथो पटक हो । अमेरिकामा एक नामुद चुरोटेले साथीसँग सोधेछ– जीवनमा छोड्न सजिलो लत के हो ? साथीले जवाफ दिन सकेन । सँगैका अमेरिकी व्यंग्यकार माकटोनीले भनेछन्– ‘चुरोट †’ चुरोटेले दंग पर्दै सोध्यो ‘कसरी ?’ उनले भने– ‘मैले त चार पटक छोडिसकें †’ चुरोटको लत भएको मान्छेलाई कहिलेकाहीँ लेख्दै जाँदा मनमा बाँझो पल्टन्छ । केही पनि नआएर छिद्रहरु सबै बन्द भएजस्तो लाग्छ । अनुभूति हुँदैन, भाषाहरू मिल्दैन । त्यतिबेला एक सर्को लगाएपछि कताकताबाट फुरे जस्तो लाग्छ ।
तपाईंका कुलत के–के हुन् ?
पहिले दिनमा पच्चीस–छब्बिस खिलीसम्म चुरोट खाएँ,
अहिले छोडें । चिया धेरै खान्थेँ, कम गर्दै छु । मदिरापान गर्छु, त्यो पनि कुलत हो ।

चुरोट खान कसरी सिक्नुभयो ?
मेरो बुबा तमाखु खानुहुन्थ्यो । उहाँको तमाखु मैले भरिदिनुपर्ने । तमाखु मगमग बास्ना आउने, तान्दा सुनिने आवाज पनि राम्रो लाग्थ्यो । बुवा मकैको खोस्टामा सुर्ती बेरेर पनि खानुहुन्थ्यो । परिवारको मुलीले मात्र त्यो खान पाउने, महिला–केटाकेटीले नपाउने । गाउँमा त्यसरी खानेलाई ठूलोबडो मान्छे भन्थे । मलाई पनि बालेजस्तै तमाखु खाने र ठुलो हुने भूत चड्यो । बिस्तारै सिके ।

पहिलो पटक रक्सी कहिले खानुभयो ?
एघार–बाह्र वर्षको थिएँ । मेरा मितबुबा लिम्बु थिए, बाले मितबाकोमा एउटा काम अह्राएर पठाउनुभयो । जाडो महिना थियो । मितबा घाममा बसेर कचौरामा केही खाँदै थिए । उनको आँखा, कान र मुख रातो थियो । म जाडोले सुकसुक गर्दै थिएँ । उनले भने– ‘हाउ काइँला, कान रातो पारौं हाउ ।’ मैले बुझिनँ । मितआमाले एउटा कचौराका के हो ल्याइदिनुभयो । बाफ आउँदै थियो, अलिअलि गन्ध पनि । खाँदा टर्रो लाग्यो, खाइसकेपछि न्यानो पनि लाग्यो । त्यहीँ सुतेछु । पछि मितबुबाले घर पुर्‍याउनुभएछ । व्रतबन्ध नगरेकाले बुबाले केहि भन्नुभएन ।
खाऊँ–खाउँ लागेरचाहिँ कहिलेदेखि खानुभयो ?
काठमाडौंमा आएपछि नेवार साथी पनि भए । उनीहरूको भोजमा मुखमा हालियो । शिक्षक भएर लमजुङ गएपछि एक्लो महसुस गर्न थालेँ । गोरखापत्र पनि दुईचार महिनामा पुग्थ्यो । सूचनासम्पर्क, बौद्धिक साथीभाइ थिएनन् । एकान्तको साथीको बहानामा साँझतिर कहिलेकाहीँ पिउन थाले । अहिले हप्तामा दुई तिन पटक खान्छु ।
कस्तो माहोलमा पुग्दा रक्सी खाउँ लाग्छ ?
दिउँसो पिकनिक र साथीसँग घुम्न गएको बेलाबाहेक खान्नँ । साँझपछिचाहिँ एकान्तमा, मन मिल्ने र रक्सी खाएर ट्राफिक जाम नगर्ने, महिलाको अपमान नगर्ने साथीहरूसँग हुँदा खान मन लाग्छ ।
कुन ब्रान्ड खानुहुन्छ ?
लामो समयसम्म रोयल स्ट्याग खाएँ । अहिले सिग्नेचर खान्छु । नेपाली ह्विस्की राम्रो र सस्तो लाग्छ ।
एक बसाइमा कति पेगसम्म खानुहुन्छ ?
अनुशासित र संयमित रूपमा खान्छु । अहिलेसम्म रक्सी खाएर लट्ठिएको छैन । तीन पेगसम्म खान्छु, साहै्र रमाइलो भए चार पेगसम्म पुग्ला ।

मातेर जथाभाबी बोल्ने, साथीभाइसँग झगडा गर्ने कत्तिको भएको छ ?
छैन । सँगै बसेर मदिरा पिउने मेरा केही मित्र मात्र छन् । मेरो उपस्थितिले उनीहरूलाई अभिभावकत्व महसुस गराउँछ रे । यो बूढो आफू पनि गति छाड्दैन, हामीलाई पनि नियन्त्रण गर्छ भन्छन् । म आफूचाहिँ झगडा गर्दिनँ । बरु अरूको झगडा हेरेको छु । कतिपय बेला झगडा मिलाउन सफल भएको छु, कहिले असफल पनि ।

मदिरा पिउने बेलाका साथी को–को हुन् ?
झलक सुवेदी, युग पाठक, विमल अर्याल । यिनीहरूसँगै खान्छु प्राय ।
रक्सीले साहित्य सिर्जनालाई उत्प्रेरित गर्छ कि अवरोध ?
रक्सीले साहित्य सिर्जना गर्ने कुरा बेकार हो । रक्सीले सिर्जना फुर्ने भए रक्सी नखानेले लेख्नै सक्थेनन् । धेरै ठूला लेखक पनि छन्, जो रक्सी खाँदैनथे । लत र सिर्जनाको सम्बन्ध हुँदैन । लतमा अभ्यस्त नै भइसकेपछि थोरै सम्बन्ध भएजस्तो लाग्ला कसैलाई । तर, आम रूपमा यी दुईको सम्बन्ध छैन ।
तपाईंचाहिँ लेख्ने बेलामा कत्तिको पिउनुहुन्छ ?
अहिलेसम्म पाँच–छ पटक त्यस्तो भएको होला । कहिलेकाहीँ पत्रिकाका लागि लेख दिनुपर्छ । विषय हुँदैन, जाँगर हुदैन । भाषा, ताल, सुर केही पनि मिल्दैन । त्यस्तो बेलामा एक पेग खाँदा कताकता फुरेजस्तो लाग्छ ।
रक्सीको स्वाद कस्तो लाग्छ ?
सुरुमा त एकदम नमिठो लाग्यो । गन्ध पनि नराम्रो, प्रभाव पनि खराब । यस्तो पनि के खानुजस्तो लाग्यो । अहिले मेरो मान्यता छ– रक्सी भनेको निल्ने होइन, जिब्रो भिजाउने मात्र हो । निल्दा टर्रो हुन्छ, घाँटी पोल्छ । जिब्रो मात्र भिजाउँदा आनन्द लाग्छ ।
रक्सीले फाइदा गर्दैन भनेर जान्दाजान्दै किन खान्छन् मान्छे ?  
रक्सीले बेफाइदा गर्दैन । हामीले प्रयोग गर्ने अधिकांश औषधिमा रक्सीको मात्रा हुन्छ । सुर्तिजन्य पदार्थको बेफाइदा मात्र छ । आफ्नो शरीरको क्षमताभित्र बसेर मदिरा सेवन गर्ने हो भने हानि गर्दैन । मलाई डक्टरले भनेका छन्, साठी एमएल सधैँ खाँदा हुन्छ, नब्बे एमएल कटाउनु हुँदैन । यो यस्तो हरिप हो, यसले छाड्दै छोड्दैन भनेर डाक्टरले सीमामा बाँधेका होलान् । शरीर र खल्तीले थेग्ने गरी खानुपर्छ ।
अहिलेसम्म रक्सी छोड्ने प्रयास गर्नुभएको छ कि छैन ?
म रक्सी छोड्ने संकल्पै गर्दिनँ । अहिलेसम्म छोड्छु भनेको छैन । आफ्नै सुरमा कहिलेकाहीँ एक–दुई हप्तासम्म खान्नँ । 
तपार्इंले चिनेका सबैभन्दा जँड्याहा मानिस को–को हुन् ?
धेरै छन् तर नाम भन्न मिल्दैन । सार्वजनिक व्यक्तित्व हुन् । मेरा धेरै साथी छन्, जो अत्यधिक मदिरापान गर्छन् । अरूलाई अभद्र व्यवहार गर्छन्, एक्लै बोल्छन्, बर्बराउँछन् ।
तपाईं जँड्याहा हो कि होइन ? 
म होइन ।
परिवारले के भन्छन् ?
छोराछोरी–श्रीमतीले रक्सी छोडे, स्वस्थ भइदिए अनि अझै राम्रो लेखिदिए हुन्थ्यो भन्छन् । यो स्वाभाविक पनि हो । तर उनीहरूले मलाई जँड्याहा नै चाहिँ भनेका छैनन् ।
रक्सी पिएर श्रीमतीसँग झगडा परेको छ कि छैन ?
मेरी श्रीमती गुरुङ्नी भएकाले उनका अगाडि रक्सी खानु सामान्य हो । उनीसँग झगडा परेको त छैन तर चिडचिडाहट भने खेपेको छु ।
आफन्तहरूले केही भनेका छैनन् ?
आजसम्म मलाई श्रीमतीबाहेक कसैले पनि तँलाई रक्सी बढी भयो भनेको छैन । रक्सी खाएर सार्वजनिक परिदृश्यमा देखा पर्दिनँ ।
कस्तो अवस्था आए रक्सी छोड्नुहोला ?
कुनै दिन डाक्टरले तेरो शरीरमा गम्भीर रोग लाग्यो, तैँले रक्सी खाने दिन गयो, अब रक्सीले तँलाई खाने दिन सुरु भयो भन्यो भने छोड्छु होला ।

 –चमिना भट्टराई (सौर्य साभार)