बर्दघाट नगरपालिकाको २१ वटा कानून तर्जुमा

21 law enforcement agencies of Bardghat

विशाल चौतारी समाचार
काठमाडौं, २०७५ बैशाख १२,बिहिबार।  स्थानीय सरकार सञ्चालनका लागि पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले विभिन्न २१ वटा कानून तर्जुमा गरेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार स्थानीय तहले आफ्नो क्षेत्राधिकारभित्र रहेर ती कानून तर्जुमा गरेको हो । तर्जुमा भएका कानूनमा १२ वटा विभिन्न नियमावली, कार्यविधि र निर्देशिका छन् भने नौ वटा ऐन छन् ।

राजपत्रका प्रकाशित ऐनमा आर्थिक ऐन, योजन ऐन, आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित ऐन, सहकारी ऐन, कृषि व्यवसाय प्रवद्र्धन गर्ने ऐनलगायतका छन् ।

त्यसैगरी नगरपालिकाले बनाएको नियमावली, कार्यविधि र निर्देशिकामा कार्य सम्पादन नियमावली, कार्य विभाजन नियमावली, कार्यपालिकाको निर्णय वा आदेश र अधिकारपत्रको प्रमाणीकरण नियमावली सुत्केरी पोषण कार्यक्रम सञ्चालन निर्देशिका, शिक्षा नियमावलीलगायतका छन् ।

ती सबै ऐन राजपत्रमा प्रकाशित भइसकेकाले अब कानूनका रुपमा कार्यान्वयनमा आएको बर्दघाट नगरपालिकाका नगरप्रमुख धीरज शर्मा बस्यालले बताउनुभयो । नगर प्रमुख शर्माले आवश्यकताअनुसार कानून परिमार्जन हुनसक्ने बताउनुभयो ।

आफ्नो अधिकार क्षेत्रभित्रका विषयमा बनाएका ऐन, नियम, निर्देशिका, कार्यविधि र मापदण्ड प्रदेश सरकार र संघीय सरकारलाई पठाउनु पर्ने व्यवस्थाअनुसार यसअगावै नगरपालिकाले तर्जुमा गरेका कानून प्रदेश र संघीय सरकारमा पठाइसकिएको नगरपालिकाले जनाएको छ ।