Bisal Chautari Logo

निर्माणाधिन रंगशालाका लागि ‘सेन्टी भाइरस’ प्रचारमा धुर्मुस-सुन्तली

- ५ फाल्गुन २०७६, सोमबार १०:३३ मा प्रकाशित


Senti virus | dhurmush suntali | sitaram katel | kunjana ghimire |
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ फाल्गुन ५ सोमवार ।
सामाजिक अभियन्ता धुर्मुस-सुन्तली यति बेला चितवनस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माणमा दिन रात नभनी खटिरहेका छन् । झन्डै ४ अर्व लागतमा जनस्तरको सहयोग अपेक्षा गरि देशकै नमुना प्रोजेक्ट निर्माण गर्नु चानचुने कुरा होइन ।

सहयोग जुटाउन धुर्मुस-सुन्तलीले विभिन्न उपाए अपनाइरहेका छन् । वृहत धन-धान्याचल महोत्सव, एक जिल्ला एक कक्ष, सहयोग अपिल, रंगशाला क्षेत्र भित्रकै क्यान्टिन र चलचित्र ‘सेन्टी भाइरस’ निर्माण गरेर धुर्मुस-सुन्तलीले रकम संकलनका कार्यहरुमा ज्यान दिइरहेका
छन् ।
जसमध्येको रंगशालालाई राम्रो रकम ‘सेन्टी भाइरस’ सफलताले प्रदान गर्नेछ । यसको नाफाको ५० प्रतिशत रंगशाला निर्माणमा खर्चिने योजना छ । त्यसैले चलचित्रको प्रचारमा सक्दो खटाइ देखिन्छ ।
डिन्डू लामा ह्याल्मो र फुर्पा ह्याल्मोले लगानी गरेको चलचित्र कुनै पनि हालतमा सफल बनाउन धुर्मुस-सुन्तली लागिपरेका छन् । रंगशालाको रेखदेख र चलचित्रको प्रचारमा दुवै जनाले पालो मिलाइरहेका छन् ।
रिलिज लागि एक साता मात्र बाँकी हुँदा देशका चर्चित टिभी रियालिटी शो र सिरियलमा धुर्मुस-सुन्तली चलचित्र प्रवर्द्दनको लागि धाउन थालेका छन् ।
नम्बर १ टिभी सिरियल ‘सक्किगोनी’मा दयाहाङ र धुर्मुसले अभिनय गरेका थिए । त्यसपछि धुर्मुस-सुन्तली ‘मेरी बास्सै’को नयाँ शृंखलामा पनि देखिदैछन । ‘मेरी बास्सै’बाट कलाकारितामा ख्याति कमाएको यस जोडी झन्डै पाँच वर्ष पछि शृंखलामा फर्किएको हो । तर, एक शृंखलामा मात्र यो जोडीलाई देख्न सकिनेछ ।
यस्तै ‘कमेडी च्याम्पियन’मा पनि यस जोडीले सहभागिता जनाइसकेको छ । चलचित्रका मुख्य कलाकार दयाहाङ राई, विल्सनविक्रम राई, बुद्दि तामाङलगायतले पनि प्रचारमा प्रत्यक्ष सहयोग गरिरहेका छन् । यति मात्र होइन सिनेमाको पोस्टर देशभरका ५० हजार बढी सवारी साधनमा पनि टाँस्ने अभियान पनि सकिएको छ ।
गत शुक्रबार व्यस्तता वावजुत दयाहाङले गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमुना मैदानमा चलचित्र पत्रकार विरुद्द ब्याट घुमाए । रंगशाला निर्माणमा सहयोग जुटाउन र चलचित्र प्रचारका निमित्त यस च्यारिटी म्याचको आयोजना गरिएको थियो । रिलिज सातामा चलचित्रको टिमले टाइट सेड्युलका वावजुत थुप्रै मिडियामा अन्तर्वार्ता दिइरहेको छ ।
रामबाबु गुरुङले निर्देशन गरेको सिनेमामा दयाहाङ राई, सिताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), विल्सनविक्रम राई, बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्री, पवन खतिवडा, एलिश राई, सुनिता घिमिरेलगायतका कलाकारको अभिनय छ ।
कुमार कट्टेल र दीपक आचार्यले चलचित्रको लागि देशकै राजनीतिक अवस्थालाई पटकथामा उतारेका छन् । सिनेमाको सार्वजनिक ट्रेलरले दर्शकको मन जितिसकेको छ । चलचित्र यही शुक्रबार, फागुन ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

प्रतिक्रिया