Bisal Chautari Logo

सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या ११ हजार नाघ्यो, ३६ जनाको मृत्यु, बालबालिकामा पनि संक्रमण दर उच्च

- १३ मंसिर २०७७, शनिबार १०:१६ मा प्रकाशित


विशाल चौतारी समाचार
कैलाली, २०७७ मंसिर १३ शनिवार । 
सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ११ हजार नाघेको छ।

प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा ११ हजार २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। एक लाख १७ हजार दुई सय ७८ जनाको पीसीआर परीक्षण गर्दा ११ हजार २७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको मन्त्रालयका सूचना अधिकारी नरेन्द्र सिं कार्कीले जानकारी दिए। उनका अनुसार नौ हजार एक सय ६६ जनाले कोरोना जितेका छन्।

हालसम्म सबैभन्दा बढी कैलालीमा मात्रै चार हजार छ सय जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको छ। त्यसपछि डोटीमा एक हजार तीन सय ५२ जनामा सङ्क्रमण पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा कम दार्चुलामा तीन सय १८ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयको तथ्याङ्क छ।

उमेर समूहका आधारमा हेर्दा सुदूरपश्चिममा १९ वर्षमुनिका कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार नौ सय ३६ रहेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। प्रदेशमा भारतबाट आएकाहरूमा सङ्क्रमण बढी देखिएकाले बालबालिकामा समेत सङ्क्रमण दर उच्च रहेको सुदूरपश्चिमका स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले जानकारी दिए।

प्रदेशमा परीक्षणको दायरा घटाइएपछि सङ्क्रमण दर केही दिनयता ओरालो लागेको छ। कात्तिक २३ गतेसम्म औसतमा दैनिक सात सय को कोरोना परीक्षण हुने प्रदेशमा पछिल्ला दिनहरूमा भने दैनिक साढे दुई सय हाराहारीमा मात्रै कोरोना परीक्षण हुने गरेको छ।

केन्द्रको तथ्याङ्क अनुसार भने सुदूरपश्चिममा कुल कोरोना सङ्क्रमितको सङ्ख्या साढे ११ हजार पार भइसकेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रदेश बाहिर सङ्क्रमण पुष्टि हुने र उपचाररत सङ्क्रमितको तथ्याङ्क आफू कहाँ नराखिएको हुँदा सङ्ख्या फरक परेको जनाउँदै आएको छ।

मन्त्रालयका अनुसार प्रदेशमा कोरोना सङ्क्रमणबाट हालसम्म ३६ जनाको मृत्यु भएको छ।

प्रतिक्रिया