Bisal Chautari Logo

‘दाल भात तरकारी’मा हरिवंशको जोडी निरुता || पुष्पको जोडी स्वस्तिमा

- ३० श्रावण २०७५, बुधबार १२:४८ मा प्रकाशित


dal bhat tarkari movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७५ श्रावण ३०, बुधबार । गत वर्षको सुपरहिट बन्न सफल फिल्म ‘शत्रु गते’ टिमले नयाँ कमेडी सिनेमा ‘दाल भात तरकारी’को औपचारिक रुपमा निर्माण घोषणा गरेको छ । मह संचारको ब्यानरमा किरण केसी प्रस्तुतकर्ता रहने फिल्मको बुधवार राजधानीमा एक कार्यक्रमका बीच औपचारिक रुपमा निर्माण घोषणा गरियो ।
यस फिल्मलाई निर्माता तथा कलाकार किरण केसीका सुपुत्र सुदन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले दुई हलिउड फिल्ममा सह–निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले, नेपाली फिल्म निर्देशनको भने पहिलो पटक अनुभव बटुल्न लागेका हुन् ।
चलचित्र ‘दाल भात तरकारी’मा कलाकारहरु मल्टिस्टारर रहेको छ । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, निरुता सिंह, प्रियंका कार्की, पुष्पल खड्का, स्वस्तिमा खड्का, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय रहनेछ । मंसिर पहिलो साताबाट फिल्मको छायांकन सुरु हुँदैछ ।
चलचित्रले हरेक मानिसले दाल भात तरकारी खानका लागि गर्ने संघर्षको कथा बोल्ने बताइएको छ । फिल्मको कथा, स्क्रिन प्ले र डाइलग समेत हरिवंश आचार्यले लेखेका हुन् । शम्भुजित बाँस्कोटाको संगीत रहने फिल्मका गीत हरिवंश आफैंले लेखेका छन् ।

फिल्ममा हरिवंश र निरुतालाई जोडीको रुपमा देख्न सकिनेछ भने पुष्पलको जोडी स्वस्तिमासँग जोडिएको छ । राजाराम पौडेल, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, किरण केसीलगायतका कलाकारहरुको पनि फिल्ममा अभिनय रहने बताइएको छ ।
दिर्घ गुरुङको सिनेमाटोग्राफि रहने चलचित्रमा मित्र डि गुरुङको सम्पादन रहने छ । कविराज गहतराजको कोरियोग्राफी रहने ‘दाल भात तरकारी’ मा प्रमिला आचार्य, यमन श्रेष्ठ, नरेन्द्र कंशाकार, शिवहरी पौडेल, राजाराम पौडेल, दिर्घ गुरुङ, अनुराग कुँवर, विल्सन विक्रम राई, दीपेन्द्र खनियाँ र सुमित मैनाली निर्मातामा रहेका छन् । चलचित्र वर्ष २०७६ को बैशाख १३ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको छ ।

प्रतिक्रिया