Bisal Chautari Logo

चलचित्र ‘के घर के डेरा’को छायांकन सर्यो

- ९ चैत्र २०७६, आईतवार ०९:३५ मा प्रकाशित


Ke ghar Ke dera- dayahang rai, bipin karki, barsa raut
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ चैत्र ९ आइतवार ।
सम्पूर्ण विश्व कोभिड-१९ को चपेटामा परेको समयमा नेपाली चलचित्र क्षेत्र पनि तहसनहस भएको छ । चलचित्र घरहरु बन्द छन् भने छायांकनरत लगभग सबै चलचित्रहरुले छायांकन स्थगन गरेका छन् ।

यसैबीच, चैत्र दोश्रो साताबाट छायांकनमा जान तयार रहेको नेपाली चलचित्र ‘के घर के डेरा’ले छायांकन रोकेको छ । कोभिड-१९ को त्राशका बीच राज्यले पनि चलचित्रका गतिविधी रोक्न आह्वान गरेको समयमा सतर्कता अपनाउदै अवस्था सामान्य नभएसम्मका लागी छायांकन रोकिएको निर्देशक सुब्रतराज आचार्यले बताए । चलचित्रका कार्यकारी निर्माता ताक्पा तामाङ (सिंगे लामा)ले स्वास्थ्य पहिलो रोजाई रहेकोले छायांकन स्थगित गरिएको बताए । ‘हाम्रो स्वास्थ्य पहिलो प्राथमिकता हो, हामी रहे चलचित्र बनाउँदै गरौँला’, उनले भने ।
चलचित्र यूनिटले महामारीको रुपमा विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) फैलिन नदिन बिशेष सतर्कता अपनाउन सम्पूर्ण नेपालीमा अपिल समेत गरेको छ । ‘आफु पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्दै हामीले चलचित्र छायांकन सारेका हौँ’, निर्देशक आचार्यले भने, ‘सम्पूर्ण दर्शक तथा आम नेपालीलाई सुरक्षित रहन अपिल गर्दछु’ ।
पैँतिस वर्षअघिको प्रदीप रिमाल निर्दे्शित चलचित्र ‘के घर के डेरा’को नाम सापटी लिएर यो चलचित्र बनाउन लागिएको हो । चलचित्रमा भर्सटायल अभिनेताद्वय दयाहाङ राई र विपिन कार्कीको अभिनय रहनेछ । यसअघि उनीहरुले चलचित्र ‘जात्रै जात्रा’ मा सँगै काम गरेका थिए । शुभ लाभ फिल्मस् र ए प्लस इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘के घर के डेरा’ मा अभिनेत्री वर्षा राउतको पनि अभिनय रहनेछ । दयाहाङ र विपिनसँग उनले यसअघि ‘जात्रै जात्रा’ मा स्क्रिन साझेदार गरेकी थिइन् । चलचित्रमा लुनिभा तुलाधर, रविन्द्र झा, आर्सिना भट्टराईलगायत कलाकारको पनि अभिनय रहनेछ ।
‘के घर के डेरा’ मा राजिव श्रेष्ठ र किरण महर्जन निर्माताको रुपमा रहनेछन् भने ताक्पा तामाङ (सिंगे लामा) कार्यकारी निर्मातामा छन् । त्यस्तै, यम प्रसाद ओली सह(निर्मातामा रहेका छन् । ‘हरि’ चलचित्रका निर्देशक सफल केसी र प्रतिक गुरुङको पटकथा रहेको चलचित्रको कन्सेप्ट निर्माता सिंगे लामाको हो । सिंगेले यसअघि ‘जात्रा’, ‘जात्रै जात्रा’ र ‘हरि’ फिल्म निर्माण गरिसकेका छन् ।
काठमाडौंमा कोठा भाडामा लिएर बस्नेहरुको कथामा आधारित भएर निर्माण हुने चलचित्रलाई दिर्घ वीर गुरुङले खिच्ने जिम्मेवारी पाएका छन् । यस्तै, मित्र डि. गुरुङको सम्पादन रहने चलचित्रमा शंकर थापा ‘स्माइल’ को संगीत तथा गायन, डिपी खनाल तथा सुब्रत राज आचार्यको गीत, उदयराज पौडेलको एरेञ्ज र गम्भीर विष्टको कोरियोग्राफी रहनेछ । चलचित्रलाई रोहित-रत्न (आरआर) ले वितरण गर्दैछन् ।

प्रतिक्रिया