दीपक र दीपिकालाई उमेरको चिन्ता, ‘छक्का पञ्जा ३’को दोस्रो गीत रिलिज (भिडियो हेर्नुहोस्)

Deepak Raj Giri and Deepika Prasain CHHAKKA PANJA 3 song
विशाल चौतारी समाचार
काठमाडौ, २०७५ भाद्र २५, सोमबार । वर्ष ०७५मा सबैभन्दा बढी प्रतिक्षामा रहेको मल्टिस्टारर फिल्म ‘छक्का पञ्जा ३’ को दोस्रो गीत रिलिज भएको छ । ‘पछि उमेर ढल्किन्छ फेरि कालै पल्किन्छ’ बोलको गीत निर्माण टिमले सार्वजनिक गरेको हो । ज्योतिषले दिएको समय अनुसार सोमवार ठिक ११ बजे यो गीतलाई यूट्युबबाट ‘वल्ड वाइड’ रिलिज गरिएको हो ।
‘पहिलो नम्बरमा’ बोलको गीतले ३७ दिनमै यूट्युबमा करोड बढी ‘भ्यूअर्स’ बटुल्दै रिलिज अगावै रेकर्ड राखिसकेको छ । नवलपरासीस्थित सास्वत धाममा खिचिएको गीतको भिडियोमा अभिनेत्री दीपिका प्रसाइँ, दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ फिचर्ड छन् ।
नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराई र गायिका एन्जिला रेग्मीको स्वर रहेको गीतमा अर्जुन पोखरेलले संगीत भरेका छन् । गीतको शब्द अर्जुन र दीपकराज गिरीले लेखेका हुन् । पुरुषोत्तम प्रधानले खिचिएको गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । गीतमा दीपिका र दीपकको जोडी कमालको देखिएको छ ।
दीपाश्री निरौला निर्देशित यस फिल्मको खातामा अर्को हिट नम्बर थपिने पक्का छ । संगीतपक्षकै कारण उक्त फिल्मको दुई सिरिजले बक्सअफिसमा आक्रामक इनिसियल व्यापार गर्न सफल भएको थियो । ‘पछि उमेर ढल्किन्छ…’ का कारण ’छक्का पञ्जा ३’ लाई पनि ठूलो फाइदा हुने धेरैको अनुमान छ ।
फिल्मले कमेडी कथामा सामाजिक सन्देश बोकेको बताइएको छ । यसको कथा दीपक आफैंले लेखेका हुन् । फिल्ममा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।
दशैँमा रिलिज हुने ’छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्कीको विशेष भूमिका छ भने अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता संजोग कोइराला गेस्ट रोलमा छन् । अभिनेत्री बर्षा राउत ’पहिलो नम्बरमा’ गीतमा मात्र छिन् ।

गीत हेर्नुहोस् :-