साहिल र कुसुम ‘मिस्टर नेपाली’बाट उदाउने आशामा

mr.nepali nepali movie
विशाल चौतारी समाचार
काठमाडौ,२०७६ कार्तिक २४ आइतवार ।
कार्तिक २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मिस्टर नेपाली’बाट दुई कलाकार यो क्षेत्रमा भित्रिदैछन् ।

नायकको रुपमा साहिल श्रेष्ठ र नायिकाको रुपमा कुसुम राउतले यो क्षेत्रमा पाइला टेकेका हुन् । यो चलचित्रलाई देव भुषालले निर्देशन गरेका हुन् ।
चलचित्रमा नायक भूवन केसी पनि भएकाले उनको चर्चा हुनु स्वभाविक नै हो । तर, चलचित्र साहिल र कुसुमकै वरिपरी घुमेको छ ।
चलचित्र क्षेत्रमा भित्रिने नयाँ अनुहारका लागि डेब्यू चलचित्र सफल हुन आवश्यक छ । साहिल र कुसुम पनि यो चलचित्रबाट दर्शकमाझ चिनिने दाउमा छन् ।
अमेरिकाबाट फर्किएका साहिलको सेरोफेरोमा घुमेको चलचित्रबाट कुसुम पनि आशावादी छिन् । डेब्यू चलचित्र सफल भएको खण्डमा कलाकारका लागि धेरै फाइदा हुन्छ ।
यो चलचित्रले विदेशमा रहेपनि नेपाली मन फेरिदैन भन्ने कथालाई उठान गरेको छ । राष्ट्रियताको कथाको साथमा कमेडी, प्रेम समेत समावेश भएकाले दर्शकका लागि एउटा पूर्ण प्याकेज चलचित्र भएको निर्देशक भुषालको दाबी छ ।
प्रेमराज दाहालको निर्देशनमा तयार भएको यो चलचित्र सफल भएको खण्डमा साहिल र कुसुमका लागि चलचित्र क्षेत्रको आगामी बाटो पक्कै पनि सहज हुनेछ ।